+९७७ ९८५७६२४६०१

बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दलवहादुर पाइजाले जानकारी दिनुभयो । दुइ दिन सम्म चलेको मेलामा अध्यक्ष पाइजाको नेतृत्वमा उक्त सहयोग रकम संकलन भएको हो ।

संकलित रकम सोमबार सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । मेला मनाउन आएका सर्वसाधरणहरु विच सुरेशको उपचारका लागि आह्वान गरिएको र सवैजनाले स्वतस्फुर्त रुपमा सहयोग गरेको अभियन्ता लालकुमार रोकाले बताउनुभयो । सहयोग संकलन गर्न मगर र छन्त्याल विद्यार्थीहरुले मेलामा विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

यसै गरि दुइबै मा रहनुभएका सोम रोकाको नेतृत्वमा संकलन भएको ८७ हजार दुइ सय ७० रुपियाँ सुरेशको परिवारलाई हस्तान्तरण गरिएको शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । क्याम्पसचोक वस्नुहुने कमल राईले दुइहजार एकसय ५ रुपियाँ सहयोग गर्नुभएको छ । यसअघि मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले ४३ हजार पाँचसय १५ रुपियाँ जुटाएका थिए । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष शाक्यले बताउनुभयो । छन्त्यालको उपचारका लागि सक्दो सहयोग गर्न अध्यक्ष शाक्यले सवैमा अनुरोध गर्नुभएको छ ।