+९७७ ९८५७६२४६०१

जिल्लाका एक दम्पत्तीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्दीबासीको उपचारमा आफ्नो खर्च कटाएर २ लाख आर्थिक सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला जन्मघर भई हाल बेनी नगरपालिका–८ कालिपुलमा बस्ने प्रेम र दिलकुमारी पुर्जाले जिल्लाकै परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई उपचारको अभावकै कारण मृत्युबरण गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा उक्त सहयोग गरेका हुन् ।

बैदेशिक रोजगारको सिलसिलामा बहराइनबाट फर्किएका प्रेम पुर्जाले कोषले जिल्लामा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा निरन्तर सहयोग गरिरहेको देखेर उत्साहित भएको बताए ।‘मैले तलबसुविधाबाट पनि जम्मा गरेको थिए,‘घरमा आएर श्रीमतिसंगै सहयोग हस्तान्तरण गर्ने अवसर मिल्यो’ पुर्जाले भने ।सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले सामान्य र जटिल उपचारमा आर्थिक समस्या भएका विरामीलाई कोषले अभियान सञ्चालन गर्ने गरेको बताए ।

उनका अनुसार कोषले १ करोड ५० अक्षय कोषको स्थापना गरी ब्याजबाट उपचारमा सहयोग गर्ने अभियान सञ्चालन गरेको बताए। उनले उपचारमा हालसम्म न्यूनतम ५ हजार देखी ४० लाखसम्म खर्च भएको बताए ।कोषका अध्यक्ष शाक्यले हरेक विरामीलाई ब्यक्तिगत रुपमा ५ हजार र भेटघाटमा हुने खर्च आफै तिर्ने गरेका छन्।

बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो । कोषले हालसम्म ७५ जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।हालसम्म संस्थागत संरक्षकमा मोना कतार, मोना जापान, मोना जापान क्षेत्रीय समिति नागोया, म्याग्दी उद्धार समिति बहराइनले प्रति संस्था ३ लाखभन्दा बढी सहयोग गरेर आजिवन सदस्यता लिएका छन भने ब्यक्तिगत रुपमा संरक्षक बन्नेको संख्या १८ पुगेका छन् ।